काठमाडौं। दुई साताअघि मनाङको नासों गाउँपालिकाको थोंचेदेखि तिल्चे जाने बाटोमा दुधखोलामाथि स्थानीयले काठेपुल हालेका छन्। निर्माण व्यवसायीले पक्की पुल बनाउन ६ वर्षअघि ठेक्का लिएर पनि काम नगरेपछि त्यहाँ गाडी पार गर्न काठको पुल हालिएको हो।
दुई सय १९ जना खेताला लगाएर काठको पुल जोडिएको बताइएको छ। २०७३ सालको असारमा ठेक्का लागेको यो पुल एक वर्षभित्रै सक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म निर्माण अघि बढेको छैन। भ्याटबाहेक तीन करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारेपनि निर्माण व्यवसायीले पटकपटक गरेर करिब एक करोड ३२ लाख रुपैयाँ निकासा पाइसकेको छ।
पुल बनाउन मृत सञ्जीवनी, खड्का र क्याराभान कम्पनीले ज्वाइन्ट भेन्चरले कामको जिम्मा लिएका हुन्। सोहि निर्माण कम्पनीले जिम्मा लिएको हुम्डे पुल पनि अलपत्र छ। जिल्लाका ६ वटा पुल अहिले पनि अलपत्र अवस्थामा छन्। सबैको ठेक्का क्याराभानले नै लिएको हो। पिसाङ र मुङजीमा निर्माणाधीन पुलको कुनै टुंगो छैन। तिमाङमा सकिनै लागेको पुल असारको बाढीले बगाएको स्थानीयको गुनासो छ। काठेपुलकै भरमा ठूला गाडी समेत तर्दा जोखिम बढेको स्थानीयहरु बताउँछन्।