रुकुम। रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा बढ्दो सवारी चापका कारणले गर्दा पैदल यात्री र आम सर्वसाधारणको आउजाउमा समस्या भएको छ।
जिल्लामै सवारीसाधन व्यवस्थापनका लागी बसपार्क नहुँदा सडक छेउको पार्किङ्ले सर्वसाधारणलाई समस्या भएको हो। उक्त जिल्लामा बसपार्क नभएकाले गर्दा बर्सेनि बढ्दै गएको सवारी चाप र अव्यवस्थित पार्किङका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। सानादेखी ठुला सवारीसाधन सडक छेउमानै राखीएको हुनाले पैदल यात्रा गर्ने यात्रीलाई ज्यान जोगाउँन नै मुस्किल भएको छ।
स्थानीयका अनुसार साँघुरो सडक त्यससँगै सडकमै गरिने पार्किङ र दिनहुँ बढ्दै गएको सवारीसाधनको आउजाउले विद्यार्थी, साना बालबालीका, वृद्धवृद्धा र बिरामी बढी समस्यामा परेका छन्। सडक संचालन भएको डेढ दशक भन्दा बढी भईसक्दा पनि यस स्थानमा अझै बसपार्क बन्न सकेको छैन।
सल्लेस्थित भेरी भन्ने स्थानमा निर्माण गर्ने भनिएको बसपार्कको काम अलपत्र अवस्थामा रहेको छ। तर जिल्लाको पार्किङ समस्यालाई समाधान गर्न छिट्टै बसपार्क निर्माणको कामलाई अगाडी बढाउने मुसिकोट नगरपालीकाले जानकारी दिएको छ। लामो समय देखी बसपार्कको अभाब रहेको बागबजार, पातुखोला, मठ र सल्यलगाएतको मुख्य सडक छेउ हाल सवारीसाधनको पार्किङस्थल बन्दै लाइरहेको छ।
सदरमुकाम मुसिकोटमा बसपार्क व्यवस्थापनका लागी सहरी विकास तथा भवन विभागले यो भन्दा अगाडीनै ५२ करोड भन्दा माथीको लागतमा व्यवस्थित मलसहितको बसपार्क निर्माण गर्ने डिपीआर गरिसकेको भएतापनि विभिन्न समस्या देखाएर अहिलेसम्म बसपार्क निर्माणको काम सुरु गरेको छैन। जसले गर्दा यस क्षेत्रका स्थानीले सास्ती भोग्नु परेको छ।