काठमाडौं। सुस्ता र ठाडिघाट गाउँ जोड्ने झोलुंगे पुल ८ वर्ष भइसक्दा पनि पूरा हुन सकेको छैन। निर्माण कम्पनी त्रिसुली आश्रय जेभी (ज्वाइन्ट भेन्चर) ले पुल निर्माणको ठेक्का लिएको हो।
सुस्ता गाउँपालिका ५ को शकरदिन्ही र पूर्वतर्फको सुस्ता गाउँ जोड्ने पुल निर्माणका लागि ठेकेदार कम्पनीले २०७० सालमा ठेक्का लिएको थियो। उक्त पुल निर्माणमा तेस्रो पटक म्याद थपिसकेको छ। तेस्रो पटक थपिएको म्यादअनुसार आगामी चैत्रभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि उक्त समयमा काम सम्पन्न गर्ने कुनै छाटकाट नदेखिएको बताइएको छ।
पुलका सबै १० वटै खम्बा ठडाइसकिएको छ, ती खम्बामाथि बनाइने फलामे पिल्लर बनाउनुपर्ने भएकाले आउँदो चैतभित्र सम्पन्न हुन नसक्ने बताइएको छ। जमिनभन्दा १६ मिटर तलबाट उठाउनुपर्ने सबै खम्बाको काम सम्पन्न भइसकेको छ। सबै समान फटाफट जुटेमा आउँदो असार साउनमा पुल बनाइसक्ने गरी काम अघि बढेको निर्माण कम्पनीको दाबी छ।
उक्त पुल २८ करोड लागतमा सुरु भएको हो। सो पुल झोलुंगे पुल १५ सय ७१ मिटर लामो छ। महाकाली नदीपछिको नेपालमै यो दोस्रो लामो पुल हो। झोलुंगे पुलको निर्माणपछि सुस्ता आउजाउ गर्न सहयोग पुग्ने र आन्तरिक पर्यटकको चहलपहल बढ्ने स्थानीयको आशा छ।
पुल निर्माणले सुस्ताको विकासमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ। नारायणी नदीपारि (पूर्वतर्फ) भारतीय सिमानासँग जोडिएको सुस्ता गाउँमा आउजाउ गर्न नारायणी नदीमा डुंगा तर्नुपर्ने बाध्यता छ। नदीवारिको गाउँमा अध्ययन गर्ने विद्यार्थीहरूसमेत डेढ किलोमिटर दूरीमा डेरा गरेर बस्न बाध्य छन्।