लुम्बिनी । लुम्बिनीमा गुरुयोजनाविपरीत विशाल बुद्धको मूर्ति निर्माण भइरहेको छ। महायानी सम्प्रदायको विहार गुम्बा भएको पश्चिमी क्षेत्रमा बुद्धको मूर्ति निर्माण भइरहेको हो।
ड्रिगुङ काग्युद् धर्मराजा फाउन्डेसनले गुरुयोजनाले कल्पना नै नगरेको ठाउँमा मूर्ति निर्माण गरिरहेको छ। निर्माण कार्यलाई अझ तिव्रताका साथ अघि बढाइएको छ।
उपाध्यक्षस्तरीय निर्णय गरेर २४ डिसेम्बर २०२१ मा काम गर्न लुम्बिनी विकास कोषले अनुमति दिएको थियो । १ सय ६० मिटर वाई १ सय ६० मिटर क्षेत्रफल रहेको लुम्बिनी स्क्वायरको हरियाली बगैंचा र प्राकृतिक मनोरम स्थल नासेर मूर्ति ठड्याइँदै छ ।
मूर्ति राख्न बनाइएको आसन २२ फिट अग्लो छ । त्यसमाथि १२ फिट अग्लो मूर्ति बनाइँदैछ । शाक्यमुनि बुद्धको अर्धकदको मूर्ति बनाइएको छ । करिब २२ वाई २२ मिटरको जग्गामा बनाइँदै गरेको मूर्ति परिक्रमा गर्न चारैतिर ६र६ मिटरको पक्की बाटो बनाइनेछ । मूर्ति १ करोड रुपैयाँ लागतमा बनाउन थालिएको हो ।
लुम्बिनीको आध्यात्मिकता बढाउन मूर्ति निर्माण गर्नु नराम्रो नभएको कोषले जनाएको छ। स्थानीयले भने लुम्बिनीमा बेथितिको चाङ बढेको आरोप लगाएका छन्।