काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–११ पाकुटोलमा शान्ति पार्क निर्माण हुने भएको छ। सङ्घीय सरकार र बनेपा नगरपालिकाको गरी कूल एक करोड ६५ लाखको लागतमा पार्क निर्माण गर्न लागिएको हो।
ठेक्का सम्झौता भई निर्माण शुरु गरिएको पार्कको पूर्वमन्त्री गोकुल बाँस्कोटाले शिलान्यास गरेका छन्। शिलान्यासका क्रममा बाँस्कोटाले शहरीकरणको चाप र त्यसले दिने तनावबाट मुक्त हुनका लागि शान्ति उद्यान आवश्यक भएको बताए।
उनले भने, “विकास भनेको बाटो, खोनपानी, पुल मात्रै होइन उद्यान आनन्द लिन र पार्कमा सामूहिकरुपमा बसेर आपसमा भावना साटासाट गर्ने थलोको पनि विकास गर्न आवश्यक भएकाले अबको सरकारले त्यसतर्फ पनि योजना बनाएर अगाडि बढ्नुपर्छ। मानिस प्रकृतिसँग रम्न चाहने भएकाले पार्क निर्माण गर्नु अपरिहार्य छ।”
पहिला बिहानदेखि बेलुकासम्म चराचुरुङ्गीको आवाज सुन्न पाइन्थ्यो तर अहिले गाडीको धुवाँ हर्न र प्रदुषणले सताउने भएकाले वृद्धवृद्धालाई दिक्क लाग्ने र बालबालिकाको पढाइमा पनि असर पार्ने भएकाले मनोरञ्जन लिने यस्ता ठाउँको विकास गर्नुपर्नैमा उनले जोड दिए।
पार्कका लागि बनेपाको चण्डेश्वरी मन्दिर परिसरदेखि गोसाइस्थानसम्म सिँढी निर्माण अन्तिम चरणमा पुगेको छ ।ज्ञानज्योति कौशिल बस्नेत प्रदेज जेभीले ठेक्का लिएको सो पार्क आगामी २०७९ जेठभित्र सक्ने गरी निर्माण कार्य अघि बढाएको छ ।
व्यस्त सहरको नजिकै जंगल छेउमा पार्क निर्माण भएपछि मनलाई शान्त गराउन सकिने र मनोरञ्जन पनि लिन पाइने अपेक्षा गरिएको छ ।