काठमाडौं। इलामको इलाम नगरपालिकामा सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण गरिएको छ। इलाम नगरपालिका–३ पुवामझुवास्थित चैतेस्थित सुनुवारहरुको धार्मिक स्थल परिसरमा संग्रहालय निर्माण गरिएको हो।
उक्त संग्रहालयको आइतबार नगरप्रमुख महेश बस्नेतले उद्घाटन गरेका हुन्। दुईतले संग्रहालय भवन नगरपालिकाको २१ लाख २५ हजार रुपैयाँ र बाँकी स्थानीयको योगदान गरी कुल २५ लाख रुपैयाँमा निर्माण भएको बताइएको छ।
सुनुवारहरुको आफ्नै भाषा, लिपि, धर्म, संस्कृति, रीति र परम्परा भएकाले त्यसको विकास र प्रवर्द्धन गर्दै पाटेनागी पर्यटनसँगै जोड्न सो संग्रहालयको निर्माण गरिएको बताइएको छ।