काठमाडौं। पर्यटक पवर्द्धनमा टेवा पुयाउने उद्देश्यले गुल्मीको भार्सेमा बुद्ध स्तुपा निर्माण सुरु गरिएको छ। डेढ करोड लागतमाबौद्ध स्तुपा निर्माण सुरु गरिएको हो।
सत्यवति गाउँपालिका ८ भार्सेको देउराली डाँडाँमा बौद्ध स्तुपा निर्माणको काम भइरहेको छ। स्तुपा निर्माणको काम असार मसान्तसम्म सम्पन्न हुने भार्से स्वयम्भु देउराली बौद्ध स्तुपा निर्माण समितिले जनाएको छ।
स्तुपा समुद्री सतहबाट दुई हजार एक सय ८० मिटर उचाईंमा निर्माण हुँदैछ। प्राकृतिक तथा कला संस्कृतिले भरिपूर्ण भार्सेमा थपिएका धार्मिक एवं पर्यटकीय संरचनाले स्थानीय मात्रै खुसी छैनन्। भार्से आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तव्य बन्नेमा दुई मत नरहेको स्थानीयको भनाई छ।
स्तुपाको १३ फागुनमा शिलान्यास भएको छ। लुम्बिनीबाट चार र श्रीलंकाबाट एक जना बौद्ध गुरु आएर शिलान्यास गरिएको हो। स्तुपा निर्माणको नेतृत्व भार्सेली समाज हङकङका अध्यक्ष समेत रहेका कुल बहादुर बुढाथोकीले गरेका छन्।