काठमाडौं। विश्वसम्पदा सुचीमा सुचीकृत भएको हनुमान ढोका दरबार क्षेत्रको दश अवतार मन्दिरको पुनःनिर्माण थालिएको ६ वर्ष वितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन। आर्थिक वर्ष ७३/७४ मा निर्माण थालिएको उक्त मन्दिरको निर्माणको लागि ४ पटक म्याद थप्दा पनि निर्माण कार्य पुरा नभएर पाँचौ पटक म्याद थप्ने तयारी भएको छ। ३ करोड ७५ लाखमा मन्दिर पुनःनिर्माणको लागि पुरातत्त्व विभागले प्राकृतिक/सानु सुवाल/एसपी जेभीलाई ठेक्का दिइएको थियो।
मन्दिरको पुनःनिर्माण कार्यमा अहिलेसम्म ७५ प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तिय प्रगति भएको छ। उक्त मन्दिरको पुनःनिर्माणको लागि ३ वटा निर्माण कम्पनीले संयुक्त रुपमा ठेक्का लिइएकोमा पहिलो चरणमा प्राकृतिक कम्पनीले काम गरेको थियो। पटक पटकको म्याद थपमा पनि उक्त कम्पनीले काम नगरेपछि विभागले ३ वटै कम्पनीलाई बोलाएर कालोसुचिमा राख्ने जानकारी दिइएको थियो। विभागको कालो सुचिमा राख्ने तयारी पश्चात सानु सुवाल निर्माण कम्पनीले काम गर्न थालेको हो।
निर्माण व्यवसायिले मन्दिर पुनःनिर्माणको लागि पाँचौ पटक आगामी चैत्रसम्मको लागि म्याद थपको माग गरेको छ। सानु सुवाल निर्माण कम्पनीले राम्रो काम गर्न थालेपछि आगामी चैत्र मसान्तसम्म काम सकिने विश्वास राखेको छ। तीनै कम्पनीले संयुक्त रुपमा जैसीदेवल, रसुवाका दुई गुम्बा र माजु देग को पुन निर्माणको ठेक्का पाएको छ। एकै वर्षमा एउटै विभागले तीन ठेक्का दिएको हुनाले सम्पदा पुनःनिर्माणमा ढिलाई भएको स्थानीयको गुनासो रहेको छ।