ढल्केवर। मधेश प्रदेश सरकारले प्रदेशभरका सबै प्रदेशसभा निर्वाचन क्षेत्रसँग जोडिने गरी कालोपत्रे सडक निर्माण गर्ने भएको छ। मधेस सरकारले प्रदेशभरका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले कालोपत्रे सडक निर्माण गर्न लागेका हो।
उक्त कालोपत्रे सडक निर्माणका लागि मधेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ। मन्त्रालयले ६४ स्थानमा कालोपत्रे सडक निर्माण गर्न छुट्टाछुट्टै ठेक्का आह्वान गरेको छ।
चालू आर्थिक वर्ष २०७८/०७९ मा प्रत्येक स्थानका लागि एक करोड पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइएको छ। सडक निर्माणमा अपुग हुन जाने रकम आउँदो आर्थिक वर्षमा थप गरिने छ। दुई वर्षमा सडकको निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्कामा दिन लागिएको जनाइएको छ।
मधेस सरकारले सहज यात्राका लागि गुणस्तरयुक्त कालोपत्रे सडक निर्माण गर्न लागेको हो।