कञ्चनपुर। सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन्। हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको टोलीसहित २५० जनाले अवलोकन भ्रमण गरेका हुन्।
नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवर्द्धक तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम तथा होटल व्यवसायी महासङ्घ सुदूरपश्चिमको सहकार्यमा खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर्सले उक्त हेलिटुर सञ्चालनमा ल्याएको थियो।
फागुन १ बाट सञ्चालन गरिएको हेलिटुरमार्फत दुई विदेशी पर्यटक तथा २४८ आन्तरिक पर्यटक खप्तड अवलोकनका लागि पुगेको बताइएको छ।
खप्तड राष्ट्रिय निकुञ्ज र प्रमुख धार्मिकस्थल बडिमालिकाका लागि हेलिटुर सञ्चालन गरिएको भए पनि अत्यधिक हिउँका कारण बडिमालिकामा हेलिकप्टर ल्याण्ड गर्न नसकिँदा सोचे जति पर्यटक भित्र्याउन नसकिएको आयोजक संस्थाले जनाएको छ ।