काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न सहयोग गरेको भन्दै नेताहरुलाई धन्यवाद दिएका छन्।
बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पास गराएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई धन्यवाद दिएका हुन्।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताए। जेठ १५ भित्रै बजेट प्रस्तुत गर्नुपर्ने भएकाले त्यसबारेमा पनि नेताहरुबिच छलफल भएको बताइएको छ। एमालेको अवरोध निरन्तर भएकाले संसदबारे नै जनतामा नकारात्मक धारणा बन्ने खतरा रहेकोबारे पनि नेताहरुले धारणा राखेका थिए।
एमसीसीबारे राष्ट्रिय जनमोर्चाको गठबन्धनको भन्दा फरक धारणा भए पनि सरकारलाई दिएको समर्थन यथावत भएकाले जनमोर्चा पनि गठबन्धनमै रहेको बताइएको छ।
एमसीसी पारित गराएका दलहरुले कार्यान्वयनमा पनि मिलेर अघि बढ्नुपर्ने भन्दै दलहरुलाई सहकार्यमै रहन देउवाले आग्रह गरेका छन्।