तनहुँ। बन्दीपुर गाउँपालिकाले पर्यटकीय गतिविधि बढाउने लक्ष्यसाथ पर्खाल (मिनी ग्रेटवाल) निर्माण कार्य अगाडि बढाएको छ। चिनियाँ ग्रेटवालको झल्को दिने गरी थानीमाई–मुकुन्ददेश्वरी पर्खाल (मिनी ग्रेटवाल) निर्माण कार्य अगाडि बढाएको हो।
उक्त ग्रेटवाल निर्माणका क्रममा प्राकृतिक तथा पर्यटकीय सौन्दर्यता बिगार्ने गरी काम गरेको भन्दै बन्दीपुरका पर्यटन व्यवसायी तथा स्थानीयले भने आपत्ति जनाएका छन्। ’
बन्दीपुरका थानीमाई संरक्षण समिति, पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघलगायतका संघसंस्था तथा स्थानीय बासिन्दाहरूले उक्त स्थानको ढुंगा फुटाइएको प्रति आपत्ति जनाउँदै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। विकासका नाममा विनाश नगर्न आग्रह गरिएको बताइएको छ। पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले पूर्वाधार थप गर्दै पर्खाल निर्माण कार्य गर्नु राम्रो काम भएपनि त्यसका लागि आवश्यक ढुंगा व्यवस्थापनमा उकालोको ढुंगा फुटाउनु उचित नभएको थानीमाई संरक्षण समितिले जनाएको छ।
थानीमाई–मणिमुकुन्देश्वरी पर्खाल निर्माण कार्य जारी रहेको र मापदण्डभित्र रहेर काम गर्न निर्माण व्यवसायीलाई निर्देशन गरिए पनि निर्माण व्यवसायीबाट केही लापरबाही भएको गाउँपालिकाले स्विकारेको छ।