काठमाडौं। बनेपाको नागीडाँडामा विमानस्थल निर्माणको टुङ्गो नभए पनि विमानस्थल बन्ने हल्लाले जग्गाको मूल्य पाँच गुणाले वृद्धि भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलमा चाप बढेपछि काभ्रेको बनेपा नगरपालिका–११ स्थित नागीडाँडामा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिएको थियो।
उक्त अध्ययन सुरु गरेपछि अब छिटै विमानस्थल निर्माण हुनेमा स्थानीयवासी निकै खुसी भए। विमानस्थल निर्माण हुने क्षेत्र नजिकका जग्गाको कारोबार पनि ह्वात्तै बढ्यो। मनपरी ढङ्गले जग्गा प्लटिङ गरिए। चलनचल्तीको भन्दा निकै गुणा मूल्य वृद्धि गराइयो।
तर अब विमानस्थल निर्माण नहुने करिब निश्चित भएको छ। विमानस्थल निर्माणको हल्लाले जग्गाको भाउ मात्र वृद्धि हुन पुगेको गुनासो स्थानीय बासिन्दाको छ। विभिन्न व्यक्ति र राजनीतिक स्वार्थकै कारण विमानस्थल निर्माण प्रक्रिया अवरुद्ध भएको बताइएको छ।
उक्त क्षेत्रमा विगतमा प्रतिरोपनी सरदर पाँच लाख रुपियाँ पर्ने जग्गालाई २५ लाख रुपियाँसम्म कारोबार भएको जनाइएको छ।