काठमाडौं। दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ। महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो।
उक्त पुलले दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। सो पुल निर्माणका लागि लामो समय देखी पहल भइरहेको थियो।
नेपाल–भारत आवतजावत गर्न दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ। मोटरेबल पुल निर्माण भए आवतजावतमा सहज हुनाका साथै मालसमान ढुवानीमा पनि सहज हुने स्थानीयले आश गरेका छन्।
उक्त नदीमा पुल निर्माण हुने भएपछि यहाँका स्थानीयवासी भने खुसी भएका छन्। भारतसँग सीमा जोडिएको कञ्चनपुरपछि दार्चुलामा मोटरेबल पुल निर्माण हुन लागेको हो।
पुल निर्माण भएपछि सदरमुकाम आउने बाटोसमेत छोटो हुने यस क्षेत्रका स्थानीयवासीको भनाइ छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र सदरमुकामलाई लक्षित गरी निर्माण हुन लागेको पुलले नेपाल–भारतबीचको व्यापारलाई सहजता तुल्याउनेछ।