काठमाडौं। सरकारले लागु गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागु गर्न व्यवसायीहरुले माग गरेका छन् ।
शुक्रबार राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले साउन १ गतेदेखि लागु गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागु गर्न माग गरेको हो ।
त्यस्तै, पेट्रोलियम ऐन बनाई लागु गरिनुपर्ने, निगमको एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको सुझाव लिई तत्काल परिमार्जनसहित संशोधन गर्नुपर्ने पनि माग गरिएको नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष तथा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका संयोजक कुशप्रसाद मल्लीले बताए।
पेट्रोलियम डिलरहरुले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सानी नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार लागु गरिनुपर्ने पनि माग गरिएको उनले जानकारी दिए ।
त्यसैगरी, नेपाल आयल निगम लिमिटेडद्वारा गठित समितिको प्रतिवेदन अनुसार एलपी ग्याँस ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडा निगमबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको अनुपातमा कायम हुनेगरी स्वचालित ढुवानी भाडा कायम गर्ने व्यवस्था लागु गर्न माग गरिएको छ ।
१५ दिनभित्र माग पुरा नभएमा आन्दोलनका कार्यक्रम घोषणा हुने संयोजक मल्लीले जानकारी दिए ।