काठमाडौं। जनकपुर–पोखरा सिधा हवाई उडान सेवा आजदेखि शुरु भएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली आज हुने पहिलो उडानमार्फत पोखराबाट जनकपुर पुगेका छन्।
पहिलो चरणमा बुद्ध एयरले उडान गरेको छ । मुख्यमन्त्री नेपालीलाई जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । जनकपुरधामको जानकी मन्दिर, विवाहमण्डप लगायतको अवलोकन गर्ने कार्यक्रम छ ।
यसअघि मधेशका मुख्यमन्त्री राउत गत असोज ६ मा पोखरा भ्रमणमा गएका थिए । सप्ताहमा तीन उडान गरिने तयारी गरिएको छ । यात्रुको चाप बढे उडान सेवासमेत थप हुने जनाइएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि जनकपुर–पोखरा उडान स्थगित थियो ।
साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार जनकपुर–पोखरा हवाई उडान हुने बुद्ध एयरले जनाएको छ । पोखरा जनकपुरमा हवाई उडान अवधि ४५ मिनेटको हुने छ ।