काठमाडौं। चौथो संस्करणको ‘टुर दी ठाकुरद्वारा’ नेपालगन्जबाट शुरु भएको छ। बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको साइक्लिङमार्फत प्रचारप्रसार गरी विश्व सामु चिनाउन चौथो संस्करणको ‘टुर दी ठाकुरद्वारा’ शुरु गरिएको हो।
पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरबाट यात्रा शुरु भएको नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष सतिश निरौलाले जानकारी दिए।
नेपालगन्ज नगरको परिक्रमा गरी साइक्लिष्टको टोली बाँकेको जानकी, खजुरा गाउँपालिकाका धार्मिक तथा पर्यटकीय स्थल घुम्दै बर्दियाको बढैयाताल, बाँसगढी कतर्निया, भुरिगाँउ हुँदै ८० किलोमिटरको साइकल यात्रा पुरा गरी ठाकुरद्वारा पुगिने उनले बताए।
‘टुर दी ठाकुरद्वारा’मा दुई सय बढी साइक्लिष्टले सहभागिता जनाएका उनले जानकारी दिए। तीन वटा संस्करणबाट पाठ सिकेर चौथो संस्करणलाई थप ऊर्जाशिल बनाएको निरौलाको भनाई छ।
बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र साइकल संस्कृतिको विकास गर्ने ‘टुर दी ठाकुरद्वारा’को उद्देश्य रहेको आयोजकले जनाएको छ। ‘संस्कृति, प्रकृती, पर्यटन र खेलकुद’ भन्ने मूल नारासहित ‘टुर दी ठाकुरद्वारा’ आयोजना गरिएको हो,’ उनले भने। शुक्रवार नेपालगन्जबाट गएको टोली एक रात ठाकुरद्वारामा बसेर आज बेलुकी नेपालगन्ज फर्कने छ।