बुटवल। रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको ‘स्केट पार्क तथा सामुदायिक केन्द्र’ औपचारिक रुपमा सञ्चालनमा आएको छ। शनिबार एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेपछि स्केट पार्क औपचारिक रुपमा सञ्चालन सुरु भएको हो।
स्केट पार्क उद्घाटन भएसँगै नियमित खेल र अभ्यासका लागि खुला हुनेछ। तिलोत्तमा नगरपालिकासँग अनुमति लिएर करिब १० कठ्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क बनाउने उद्देश्यले स्केट एड नेपालले पार्क निर्माण गरेको हो। पहिलो चरणमा स्केट पार्क तयार पारिएको हो। गुरुयोजना अनुसार तेस्रो चरणसम्मको योजना सम्पन्न हुँदा स्केट पार्क दक्षिण एसियाकै नमुना हुनेछ।
स्केट पार्क निर्माण हुनु नेपाली र लुम्बिनीबासीका लागि गर्वको विषय बनेको छ। उक्त पार्क निर्माण भएसँगै अझै भौतिक पुर्वाधार निर्माण गर्ने बताइएको छ। तिलोत्तमा नगरपालिकाले तिनाउ नदी छेउका खाली जग्गामा नमुना खालका योजनाहरु सञ्चालन गरेकाले पार्क वरिपरि अन्य नयाँ संरचना समेत छिट्टै बन्ने नगरपालिकाले जनाएको छ।