काठमाडौं। पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ। कोरोनाका कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो।
जिल्लाको दुलेगौडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्गको फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ। त्यसैगरी दासढुङ्गा–देउपुर सडक आगामी असारसम्म म्याद थपका लागि प्रक्रियामा राखिएको कार्यालयले जनाएको छ।
जिल्लाको देवघाटबाट घिरिङ गाउँपालिका हुँदै केलादीघाट कालीगण्डकी नदीको तीरैतीर स्याङ्जा, पाल्पा जोड्ने शालिकराम करिडरअन्तर्गत ६८ किलोमिटर सडकमध्ये दासढुङ्गा–देउपुरसम्म छ किमी कालोपत्र भएको छ भने २५ किमी ग्राबेल गरिएको र बाँकी ३७ किमी ग्राबेल गर्न बाँकी रहेको बताइएको छ।