सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिकामा अवस्थित रहेको ऐतिहासिक पौवागढी ओझेलमा परेको छ। पौवागढीसँगै जोडिएको ऐतिहासिक सिन्धुलीगढीको पुनःनिर्माण र युद्ध संग्रालय निर्माण गरी नयाँ स्वरुप पाएको भएता पनि त्यत्तिनै महत्त्व रहेको पौवागढी ओझेलमा रहेको हो। नेपाल एकीकरणको समयमा पुर्वी नेपालका बासीन्दाहरु काठमाडौं जाने तथा फर्किने साथै लामा बगर हुँदै तिब्बत जाने एउटै मात्र नाका पौवागढी रहेको थियो। अत्यधिक मात्रामा भन्सार असुल गर्ने र साथै त्यत्तिबेलाको समयमा मुख्य आम्दानी हुने ठाउँ भएको कारणले गर्दा उक्त ठाउँलाई मल्लहरुले कब्जा गरेका थिए।
गोर्खाले मकवानपुर राज्य जित्नुभन्दा ७ दिन पहिले गोर्खाली सेनाले पौवागढी जितेका थिए। उक्त पौवागढी जितेको ५ वर्ष पश्चात गोर्खाली सेनाले अङ्ग्रेजहरुलाई त्यहाँबाट लखेटेका थिए। बीपी राजमार्गसँग जोडिएको पौवागढी ओझेलमा पर्नु आफैमा दुःखद कुरा पनि हो। पर्यटकको लागि पौवागढी सहज नभएको कारणले गर्दा त्यहाँ पर्यटक नजाने कुरा त्यहाँको स्थानीयले जनाएका छन्। पौवागढीमा नेपाल एकिकरणको बेला गोर्खाली सेनाले दुश्मनलाई लुकेर हान्न बनाइएको बन्दुकको नाल छिर्ने किल्ला आकर्षणको केन्द्र रहेको छ।
सिन्धुलीगढीमा युद्ध संग्रालय निर्माण र भौतिक पूर्वाधार निर्माणसँगै आन्तरकि पर्यटनको सङ्ख्या पनि बढ्दो अवस्थामा र।हेको छ तर सँगैको पौवागढी भने ओझेलमा परेको छ। बेलाबेलामा सदरमुकाममा रहेको नेपाली सेनाको बद्धर्बहादुर गणले पौवागढीको सरसफाई गर्ने गरेको छ। बीपी राजमार्ग निर्माण गर्दा पौवागढी भत्कीने भएको कारणले स्थानीयले अवरोध गरेका थिए। त्यसपछि २०६० सालमा उक्त राजमार्ग निर्माण गर्नको लागि ठेक्का लिएका हाज्मा कम्पनीले पौवागढीको किल्ला पुनःनिर्माण गरिदिएको थियो। त्यसपछि उक्त क्षेत्रको निर्माणमा कसैको पनि ध्यान जान सकेको छैन्।