काठमाडौं। रुदिखोला मोटरेवल पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। लमजुङ क्व्होलासोथार गाउँपालिका–६ पसगाउँमा निर्माण भइरहेको पुलको काम पाँच प्रतिशत मात्र बाँकी रहेको हो।
वडा नं ५को सिङ्दी, वडा नं ६ को पसगाउँ र कास्कीको मादी गाउँपालिका वडा नं ८ जोड्ने उक्त पुल यही फागुन महिनाभित्र सम्पन्न हुने बताइएको छ। अब पुलमा रङ्गरोगन गर्नेलगायत काम मात्र बाँकी रहेकाले यसै महिनाभित्रमा सम्पन्न हुने छ।
विसंं २०७७ भदौ १४ गते बोलपत्र गरेर निर्माण अघि बढाइएको उक्त पुल आगामी चैत १३ गते सम्पन्न गर्ने सम्झौता भए पनि तोकिएको समय अगावै निर्माणकार्य सम्पन्न हुने भएको छ। प्रदेश सरकारको रु दुई करोड ८० लाख ६६ हजार ७४५को लागतमा निर्माण भइरहेको उक्त पुल निर्माण पछि दुबै जिल्लाका बासिन्दा लाभान्वित हुने भएका छन्।