चितवन। निर्माणाधीन नारायणगढ–गोन्द्राङ छ लेनको सडकअन्तर्गत चार किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने तयारी भएको छ। दुई लेनको पूर्वपश्चिम राजमार्ग बजार क्षेत्रमा छ लेनमा विस्तार भइरहेको हो।
१६ महिना अगाडिबाट सुरु भएको नारायणगढको पुलचोक गोन्द्राङ छ किलोमिटर लामो सडकमा मुआब्जा विवाद, विद्युत् पोल हटाउनेलगायतका समस्याले गर्दा काममा ढिलाइ भएको हो। अहिले एक स्थानमा बाहेक अन्यत्र समस्या नभएपछि कामले गति लिएको डिभिजन सडक कार्यालय भरतपुरले बताएको छ।
गत वर्ष कात्तिक ११ बाट काम सुरु भएको यो सडकमा अहिले पूर्वतर्फ गोन्द्राङबाट कालोपत्रेका लागि तयारी गर्न सुरु गरिएको हो। डिभिजन सडक कार्यालयका अनुसार नाली निर्माण, फुटपाथ, स्थानीय साधन गुड्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
एक अर्ब १२ करोड रुपियाँको लागतमा निर्माणाधीन सडकको बीच भागमा हरियाली बनाइने भएको छ। मुख्य राजमार्गबाहेक दुवैतर्फ स्थानीय रुटका गाडी चल्नका लागि साढे पाँच मिटरको सडक निर्माण गरिने बताइएको छ।