काठमाडौं। नेपाल वायुसेवा निगमले साउदी अरेबियाका लागि नियमित उडानको अनुमति पाएको छ। साउदीको जनरल अथोरिटी अफ सिभिल एभिएशन (जीएसीए) ले २२ फागुनमा निगमलाई औपचारिक रुपमा उडान अनुमति दिएको हो।
यससँगै अब वैदेशिक रोजगारीका लागि साउदी गएका नेपालीहरुले अब आफ्नै देशको ध्वजाबाहक जहाजमा आउजाउ गर्न पाउने भएका छन्। संख्याका हिसाबले साउदी मलेशियापछि नेपालीहरुको दोस्रो ठूलो वैदेशिक रोजगार गन्तव्य रहेको बताइन्छ।
निगमले नियमित उडानका लागि साउदीको रियादमा आफ्नो सम्पर्क कार्यालय समेत राखिसकेको छ। जीएसीएका प्रतिनिधिले आइतबार सोही कार्यालयमै आएर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी समेतको उपस्थितीमा उडान अनुमति प्रदान गरेको निगमले जानकारी दिएको छ।
निगमले साउदीका तीन गन्तव्यमा काठमाडौंबाट नियमित उडान थाल्ने अनुमति पाएको हो। जसमा रियाद, दमाम र जेद्दा शहर रहेका छन्। यीमध्ये काठमाडौं–रियाद–काठमाडौं रुटमा आगामी अप्रिलबाटै साताको तीनवटा नियमित उडान थाल्ने तयारी गरेको निगमले जनाएको छ।