काठमाडौं। म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ। सो पुल लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको हो।
उक्त पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गरे। पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताए। यसअघि सो ठाउँमा रहेको अस्थायी प्रकृतिको झोलुङ्गे पुल थियो। बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न निकै समस्या भएको थियो।
२८ मिटर लामो पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु ३० लाख ९३ हजार ३५२ मा सम्झौता भएको थियो। पुलबाट २५८ घरधुरी लाभान्वित भएका छन्। टिभिएसयुद्वारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो।