बागलुङ । बलेवा विमानस्थलको कालोपत्रेको काम सम्पन्न भएको छ। बागलुङ नगरपालिका १४ को बलेवामा निर्माणाधीन विमानस्थल कोरोना महामारी र निषेधाज्ञाले रोकिँदा एक वर्ष ढिलो गरी कालोपत्रे भएको हो।
केही दिनमा रङरोगनसमेत गरेपछि चैत मसान्तभित्र हस्तान्तरण गर्ने तयारी गरेको निर्माण कम्पनीले जनाएको छ।
निर्माण कम्पनीले ८ करोड २४ लाखमा विमानस्थल कालोपत्रे गरेको हो । यहाँको ७ सय मिटर लामो धावनमार्गमा ६ सय ५० मिटर कालोपत्र गरिएको छ । लामो समय काम रोकिए पनि हाल गरेको काम गुणस्तरीय देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यो विमानस्थल सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई राजधानी र भैरहवा लगायत स्थानमा हवाई मार्गले जोड्नेछ । २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले बनाएको ८ सय मिटर लामो यो विमानस्थलमा २०५० सम्म नियमित जहाज चल्थे । बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाका नियमित भइरहेको उडान पोखरा-बागलुङ सडक खुलेपछि रोकिएको थियो।