काठमाडौं। तनहुँको घिरिङ गाउँपालिका–३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ। उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल निर्माण सुरु गरेको हो।
कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर तयार गरेको थियो। टेण्डर प्रक्रियामार्फत गोफाखोला थुनेर ताल बनाउने काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ। डिपिआरअनुसार ताल निर्माणका लागि करिब रु १३ करोड बजेट अनुमान गरिएको छ। पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट विनियोजन गरेर ताल निर्माण गरिने बताइएको छ।
ताल निर्माणका लागि हालसम्म रु तीन करोड ३३ लाख बजेट विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारबाट रु एक करोड, चालू आर्थिक वर्षमा रु ८० लाख, आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाबाट रु एक करोड र चालू आर्थिक वर्षमा गाउँपालिकाबाट रु ५३ लाख बजेट विनियोजन गरिएको छ।
चालू आवमा रु ९९ लाख ८१ हजार २५६ को काम हुनेछ। विसं २०७९ असार १५ गतेभित्र काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए। “बजेट अभावका कारण चाररपाँच वर्षभित्र ताल निर्माणको काम सम्पन्न हुने अनुमान गरिएको छ, पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट राखेर काम अगाडि बढाउँछौँ”, श्रेष्ठले भने। ताल वरपर पूर्वाधार निर्माणका लागि गाउँपालिकाले गत आवमा रु ३० लाख बजेट विनियोजन गरेको थियो।
उक्त बजेटले ताल निर्माण हुने गोफा खोलाको चारैतर्फबाट मोटरबाटो पु¥याइएको छ। घुमाउने ताल नामकरण गरिएको तालका बीचमा मन्दिर बनाउने योजना बनाइएको छ।