काठमाडौं। सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि थप रकम उपलब्ध गराउने भएको छ।
सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको निगमलाई थप रकम उपलब्ध गराउने भएको हो ।
मूल्य स्थिरीकरण कोषको सोमबार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतको नपुग ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
निगमले आइओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ता बापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो ।
गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २ अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ ।
निगमले प्रत्येक महिनाको ८ र २३ तारिखका दिन आइओसीलाई किस्ता बुझाउँदै आएको छ । यसअघि स्थिरीकरण कोषबाट गत जनवरी महिनामा निगमलाई १ अर्ब ८० करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।
निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णयबाट पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाइराख्न मद्दत पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले बताए ।