धनगढी। कैलालीको अत्तरियादेखि गोदावरीसम्मको ६ लेन सडक निर्माण आयोजना खारेजहुने जोखिम बढेको छ। आउँदो असारमा आयोजना सक्नुपर्ने भए पनि हाल काम नभइरहेकाले अन्तिम चरणमा रहे पनि आयोजना खारेजी हुने जोखिम बढेको हो।
अत्तरिया–धनगढी भन्सारसम्मको १४.५ किलोमिटर सडकको काम करिब ७ प्रतिशत मात्रै बाँकी छ। ३ नम्बर प्याकेजमा ७ र बाँकी १ र २ नम्बर प्याकेजमा ३ प्रतिशत मात्रै काम बाँकी रहेको बताइएको छ। निर्माण कम्पनीबाट फुटपाथमा ब्लकिङ, सर्भिस रोडमा ग्राबिलिङ, पेन्टिङ, रेलिङ, ट्राफिक संकेतलगायत काम गर्न मात्रै बाँकी रहेको बताइएको छ।
कामको गतिलाई बढाए निर्माण कम्पनीले तोकिएको समावधिभित्रै काम सम्पन्न गर्न सक्ने बताइएको छ। दोस्रो चरणको अत्तरिया–गोदावरीसम्मको सडक खण्डको विस्तार ६ लेनमा पार्न सकिएन भने असारमा आयोजना फेज आउट हुन्छ।
अत्तरिया–धनगढी ६ लेन सडक निर्माणको ३ प्याकेजको ठेक्का २०७४ जेठमा भएको थियो । ३ वर्षभित्र सम्पन्न नभएपछि ठेक्का सम्झौताको म्याद थप गरिएको थियो। निर्माणको ठेक्का लुम्बिनी, राजेन्द्र, डाँफे, लामा, शर्मा, नागार्जुन र अमर निर्माण कम्पनीले १ अर्ब ६० करोड रुपैयाँमा लिएका हुन्।