सुर्खेत। वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तार कार्य नहुने भएको छ। ९ अर्ब भन्दाबढी खर्च लाग्ने भएपछि विमानस्थल विस्तार कार्यबाट सरकार पछि हटेको हो।
पछिल्लो ४ वर्षदेखि सुर्खेत विमानस्थल विस्तारका लागि प्रदेश सरकारले वर्षेनी बजेट विनियोजन गर्दै आएको थियो। नयाँ विमानस्थल निर्माण गर्न भन्दा महँगो हुने भएपछि सरकारले विमानस्थल विस्तारको काम रोक्ने भएको हो।
विभित्र राजनीतिक दाँउपेचमा फसेको कर्णाली प्रदेशको सबैभन्दा ठूलो एयरपोर्ट विस्तार नहुने निश्चित भएको छ । विमानस्थल विस्तार नहुने भएपछि यसअघि रोकिएका जग्गाहरु फुकुवा हुने भएका छन्।
यसअघि सरकारले विमानस्थल फिनिसिङ लाइनदेखि उत्तर तर्फ ६ सय मिटर, दक्षिण तर्फ ४ सय मिटर, पूर्व तर्फ २५ मिटर र पश्चिम तर्फ २ सय मिटर क्षेत्रफलमा रहेका जग्गाहरुको लगत कारोबार रोक्का गरेको थियो ।