म्याग्दी। म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्भेको काम रोकिएको छ । लागत खर्च जुटाउन नसकेपछि सर्भेको काम रोकिएको हो ।
लुलाङको जओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङमार्गका लागि २ अर्ब ६ करोड रुपैयाँ लाग्ने भएपछि सर्भेको काम नै रोकिएको धवलागिरि गाउँपालिकाले जनाएको छ।
वडाध्यक्ष भकबहादुर छन्त्यालले सुरुङ मार्ग यहाँका लागि अति महत्त्वपूर्ण भए पनि आर्थिक अभावका कारण योजनाबाटै हटाउन बाध्य भएको बताएका छन्।
जिल्लाकै अति विकट गुर्जा गाउँमा सडक सञ्जालको विकल्पको रूपमा लिइएको सुरुङमार्गको बारेमा प्रदेश र संघीय सरकारमा समेत जानकारी गराइए पनि चासो नदेखाएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । प्रारम्भिक सर्भेको जिम्मा पाएको स्टन्थ डेभलपर्स प्रालिका इन्जिनियर कृष्ण गौतमको टोलीले पटक पटक गरेको स्थलगत अनुगमनको आधारमा लुलाङदेखि गुर्जासम्मको पहाडमा भूकम्प र पहिरोको सम्भावना समेत रहेको बताएको थियो ।
फिजिबिलिटी अध्ययनमा प्रस्तुत गरिएको लागतमा जलविद्युत्को टनेलको आकारमा एक मिटर सुरुङ बनाउन १० लाख लागत लाग्ने देखिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।