काठमाडौं। लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकमा कल्भर्ट निर्माण तीव्र रुपमा भइरहेको छ। नासोँ गाउँपालिका– ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण भइरहेको हो।
सडकखण्डको तिमाङ छहराको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि केही समय सडक बन्द गरिएको छ। उक्त स्थानमा गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो। पछि काठेपुल राखेर यातायात सञ्चालन भएकोमा गत कात्तिकमा आएको बाढीपहिराले काठेपुल बगाएको थियो।
त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण भइरहेको बताइएको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी र जिल्लाको सुरक्षा निकायद्वारा सडक निर्माण कार्यको निरीक्षण गरिएको हो। निरीक्षणमा विद्युतीकरणका लागि चामे दानाक्यू क्षेत्रमा भइरहेको पोल गाड्ने र तार तान्ने, तिमाङ खोला झरनामा भइरहेको कल्र्भट निर्माण कार्यको स्थलगत निरीक्षण गरिएको उनले जानकारी दिए। तदारुकताका साथ काम गरी शीघ्र सम्पन्न गर्न र कुनै सहयोग, समन्वय वा सहजीकरणको खाँचो भए तत्काल सम्पर्क गर्न प्रमुख जिल्ला अधिकारी आचार्यले आग्रह गरेका छन्।
कल्भर्टको काम सन्तोषजनक भएको र धारापानी चौकीबाट दैनिक सुरक्षा, समन्वय तथा नियमित रिपोर्टिङ गर्ने प्रबन्ध मिलाइएको छ। सडकखण्डका जोखिमयुक्त अवस्थाका दुईवटा रुख हटाइएको छ। सशस्त्र प्रहरी वल नं ३२ गुल्म हेडक्वार्टर चामे मनाङ र पर्वतीय उद्घार शिक्षालय तालिम केन्द्रबाट उपकरणसहित खटिएको टोलीले जोखिमयुक्त अवस्थाका दुवै रूख काटी हटाइएको छ।