विराटनगर। संखुवासभामा बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ। दुर्घटनामा घाइते पाँच जनालाई हेलिकप्टर मार्फत धरान पठाउन लागिएको हो।
बिहीबार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। मृतकको सनाखत गर्ने प्रयास भइरहेको बताइएको छ।
पाँच घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको छ। दुर्घटनामा मादी ठेगाना भएका ४८ वर्षीय डम्बरबहादुर कार्की, २२ वर्षीय तुलसा कटवाल, १७ वर्षीय करिस्मा तामाङ, २४ वर्षीय सुवास तामाङ र २४ वर्षीय युका पोखरेल घाइते छन्।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। ‘ घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको बताइएको छ।