काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन आजदेखि शुरु हुँदैछ। महासंघको साधारण सभा तथा अधिवेशनको राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान ९ बजे उद्घाटन हुने भएको हो।
साधारण सभा तथा अधिवेशन कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने महासंघले जनाएको छ।
साधारण सभा तथा अधिवेशनमा करीब १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहने महासंघले जनाएको छ। साधारण सभाको उद्घाटन सत्रमा प्रधामन्त्री देउवाले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन गर्ने कार्यक्रम तय गरिएको छ।
अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ। साधारण सभामा महासचिव एवम् कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सार्वजनिक हुने क्रममा रहेको सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन र व्यवसायीहरूका अन्य मागहरुका विषयमा व्यापक छलफल भई काठमाडौं घोषणापत्र जारी गरिने बताइएको छ।
अधिवेशन स्थल बाहिर निर्माण उद्योग सम्बन्धी विभिन्न संस्था एवं कम्पनीका ३० वटा स्टलहरू रहनेछन्।