काठमाण्डौं। सुदूरपश्चिम जिल्लाको बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमनस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएकाथिए। अहिले ती जिल्लामा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा विमानस्थलले जनाएको छ।
उक्त ठाउँका तीन जिल्लामा हप्तामा दुई पटक सोमबार र शुक्रबार नियमित उडान सुरु भएको छ र बाजुरा जिल्लामा यात्रु सङ्ख्याका आधारमा उडान गर्ने गरेको बताइएको छ। निगमले सुदूरपश्चिमका तीन जिल्लामा आफ्नो हवाइ उडान सुरु गरेपछि यात्रुलाई पनि सहज हुनुका साथै यात्रु सङ्ख्यामा वृद्धि भएको गेटा विमानस्थल कार्यालयले जनाएको छ।
यात्रु अभाव तथा जहाजको कमी भएको भन्दै निगमले सुदूरपश्चिममा केही समय पहिलेदेखि आफ्नो उडान सेवा बन्द गरेपछि निजी क्षेत्रका केही कम्पनीले यात्रु सङ्ख्याका आधारमा कहिलेकाहीँ उडान भर्दै आएका थिए।
घर छेवैमा विमानस्थल भए पनि जहाज नआउँदा निकै दुखित भएका सुदूरपश्चिमका नागरिक अहिले नेपाल वायुसेवाले जहाज सञ्चालन गरेपछि यात्रा गर्नका लागि सहज भएको भन्दै निकै खुसी भएका छन्।
विमानस्थल कालोपत्र भएको वर्षौं भएको थियो तर जहाज नआउँदा दुःख लागेको थियो, अहिले जहाज आउन थाल्यो, यात्रा गर्न सहज भएको र आफुहरु खुसी भएको स्थानीयले बताए।