काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उदघाटनका क्रममा शुक्रबारआयोजित कार्यक्रममा उनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी हुन्।
उनले महङ्गीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसङ्ग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताएकी छन् । सो नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उनको भनाइ छ । सांसद नवराज सिलवालले सो क्षेत्र विकास निर्माणका हिसाबले काठमाडौँ उपत्यकाको कर्णालीका रुपमा रहेको बताउँदै सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताइन्।
नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराए । सो क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गरिन् ।
उपप्रमुख मुना अधिकारीले अब आफूहरुले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गरिन्। उक्त कार्यक्रममा १४ वडाध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो । सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको सो भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि हालसम्म लगभग रु २५ करोड रकम खर्च भइसकेको नगरपालिकाले जनाएको छ।