लमजुङ। जिल्ला प्रशासन कार्यालय मनाङले वर्षौंदेखि अलपत्र दुईवटा मोटरेबल पुल निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत मस्र्याङ्दी नदीमा निर्माणाधीन दुईवटा मोटरेबल पुलको काममा ढिलाइ भएपछि प्रशासनले निर्देशन दिएको हो।
जिल्लाको ङिस्याङ गाउँपालिका–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको बताइएको छ। सरकारी रकम खर्चेर तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै जिम्मा लिने निर्माण व्यवसायी र सम्झौता गर्ने सरकारी निकायलाई तत्काल काम सुचारु गर्न निर्देशन दिएको बताइएको छ।
ङिस्याङ गाउँपालिका–४ हुम्डे र वडा नं ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल र वडा नं ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षौंदेखि निर्माण अलपत्र छन्। करिब पाँच वर्षअघिबाट निर्माण सुरु भएको हुम्डे ङावल पुलको करिब ७० प्रतिशत काम सकिएपछि दुई वर्षअघि भत्किएको थियो।
काठमाडौंस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले चार करोड ५१ हजारको लागतमा निर्माण सुरु गरेको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न नभएको स्थानीयले बताएका छन्।