इलाम। इलामको मेची राजमार्ग अन्तर्गत पर्ने जिरो धोबिधारा सडक खण्डमा सुख्खा पहिरो गएको कारण सडक अवरुद्ध भएको छ। उक्त क्षेत्रमा सुख्खा पहिरो गएको कारणले गर्दा सडक खण्डमा कुनै पनि सवारी सानहरु चल्न सकेका छैनन्। सवारी साधन ठप्प हुँदा निश्चित गन्तव्यको लागि सवारी साधनमार्फत हिडेका यात्रुहरु बीचबाटोमा नै अलपत्र परेका छन्। इलाम नगरपालिका ८ अन्तर्गत पर्ने उक्त क्षेत्रमा गत शनिबार बिहान सुख्खा पहिरो गएको कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ।
पहिरोको कारण सडक अवरुद्ध भएपछि वैकल्पिक बाटोको प्रयोग गरेर साना सवारी साधनको आवागमनलाई सहज वनाइएको छ। झापाबाट इलाम हुँदै पाँचथरताप्लेजुङ जाने र त्यहाँबाट तराई झर्ने सवारी साधनलाई इलाम बजारभित्रबाट सवारी साधन सञ्चालन गर्न जिल्ला प्रहरीले अनुरोध गरेको छ। मेची राजमार्गको सडकको आधा भन्दा बढी भाग पहिरोले बगााएको कारणले गर्दा सडक निर्माणमा केही दिन लाग्न सक्ने अनुमान गरिएको छ। सडक अवरुद्ध भएपछि यात्रुलाई मात्र नभएर त्यहाँको स्थानीयलाइ पनि निकै सकस भएको छ।