काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभा तथा १२ औं अधिवेशन शुक्रबार (हिजो) देखि प्रज्ञा प्रतिष्ठान कमलादिमा शुरु भएको छ। महासंघको नयाँ नेतृत्वको लागि आइतबार (भोली) निर्वाचन हुँदैछ।
महासंघको निर्वाचनका लागि हिजो अन्तिम मतदातानामावली प्रकाशन सम्मको काम गरिएको छ। आज बिहान ८ देखि ११ बजेसम्म उमेद्वारको मनोनयन पत्र दर्ता गर्ने काम भइरहेको छ। आज १२ देखि १ बजेसम्म उमेद्वारको प्रथम नामावली प्रकाशन गर्ने, १ देखि साढे १ बजेसम्म उमेद्वारमाथि दाबी विरोध गर्ने, २ देखि ३ बजे उमेद्वारको मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गरी नामावली प्रकाशन गर्ने, ३ देखि ४ बजेभित्र उमेद्वारले आफ्नो नाम फिर्ता लिन सक्ने र साढे ४ देखि साढे ५ भित्र उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ।
महासंघका अनुसार फागुन २९ गते आइतबार बिहान ८ बजेदेखि १२ बजेसम्म मतदान हुने छ। मतदान सकिएपछि मतगणना शुरु हुने र मतगणना सकिएसँगै मतपरिणाम घोषणा गरिने महासंघले जनाएको छ। महासंघका अनुसार विजयी घोषणा पछि शपथ ग्रहणका कार्यक्रम गरिने छ।