काठमाडौं। सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पर्यटकीय स्थान घ्याम्पेडाँडामा निर्माण भएको पाँच हजार लिटर पानी अट्ने पर्यटकीय घ्याम्पो उद्घाटन गरिएको छ। ठाउँको नाम घ्याम्पेडाँडा भए पनि घ्याम्पो नुहँदा यसबारेमा आन्तरिक पर्यटकले चासो राख्न थालेपछि यहाँको ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्न उक्त घ्याम्पो निर्माण गरिएको हो।
लक्ष्यले निर्माण गरिएको आकर्षक घ्याम्पोको हिजो नेकपा एमालेका पोलिब्यूरो सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले उद्घाटन गरेका छन्। उनले भक्तपुरको विकासमा यो पाँचवर्षे स्वर्णयुगका रूपमा रहेको चर्चा गर्दै विकट रहेको यो क्षेत्र अहिले विकासले कायापलट भएको बताए।
उक्त क्षेत्रमा हाल करोडौँ रकम लगानी गरेर होटलहरु सञ्चालनमा आएको, होटल व्यवसायमा अर्बौं लगानी भएको, यहाँ जिपलाइन लगायत सञ्चालनमा आइसकेको र अब प्याराग्लाइडिङ, बन्जी जम्पलगायत पनि सुरु हुन लागेको बताइएको छ।
परापूर्वकालदेखि यस क्षेत्र घ्याम्पेडाँडाको नामबाट परिचित भएकाले यहाँको पहिचानलाई झल्काउन र यहाँको महत्वपूर्ण पर्यटकीय क्षेत्रमा अझै पर्यटकीय आकर्षण बढाउन घ्याम्पो निर्माण गरिएको बताइएको छ। उक्त घ्याम्पेडाँडामा नगरपालिकाको रु २० लाखको बजेट वडा नं ७ मार्फत विनियोजित गरी त्यसमा पाँच लाखको उपभोक्तामार्फत थप गरी कूल रु २५ लाखको लागतमा घ्याम्पो निर्माण गरिएको बताइएको छ।