काठमाडौं। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न कुवेतको जजिरा एयरवेजले नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणसमक्ष प्रस्ताव गरेको छ ।
वैशाख १ मा नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडानको तयारी छ । विदेशी वायुसेवाले पहिलो पटक उक्त विमानस्थलमा व्यावसायिक उडान थाल्ने प्रस्ताव गरेको हो ।
जजिराले कुवेत–भैरहवा–कुवेत दैनिक उडानको प्रस्ताव गरेको प्राधिकरण प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । उनका अनुसार हालसम्म भैरहवा विमानस्थलमा उडान गर्न प्रस्ताव गर्ने जजिरा एक्लो विदेशी वायुसेवा हो ।
जजिराले अहिले कुवेत–काठमाडौं रुटमा १७४ सिटको एयरबस–३२० मार्फत दैनिक उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरूका अनुसार करिब साढे ५ घण्टाको हवाई दूरी भएको कुवेत–काठमाडौं अत्यधिक श्रमिक ओहोरदोहोर गर्ने नाफाको रुटमा पर्छ । नेपाल सरकारले १६ वर्षअघि कुवेतसँग हवाई सम्झौता गरेको थियो ।