काठमाडौं। तीनकुने पुल निर्माणको नयाँ ठेक्का प्रक्रिया अघि बढेको छ। प्राविधिक मूल्यांकनबाट ६ वटा कम्पनी आर्थिक प्रस्तावका लागि छनोट भएका हुन्।
पप्पु कन्सट्रक्सनले अलपत्र पारेको ७ वर्षपछि पुल निर्माणको नयाँ ठेक्का प्रक्रिया अघि बढेको हो। पुल निर्माणमा ढिलाइ भएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पुसँगको ठेक्का तोडेर नयाँ प्रक्रिया थालेको हो।
ठेक्का तोडिएकामा पप्पुले भने आयोजनाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको छ। रोकछेक नहुन्जेल गरेको कामको मूल्यांकन हुनुपर्ने, बिल भुक्तानी र काम पनि आफैंले गर्न पाउनुपर्ने माग राख्दै पप्पु अदालत पुगेको हो।
यो पुलको काम २०७१ मा सुरु भएको थियो। पप्पुले पेस्की लिएर काम थाले पनि पछि लामो समयसम्म ठेक्का होल्ड गरेर राखेको, डिजाइन स्पेसिफिकेसन अनुसार काम नगरेको र त्यस्तो त्रुटिपूर्ण कार्य गरेको भन्दै सच्याउन आयोजना कार्यालयले बारम्बार ताकेता गर्दै आएको थियो।