काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा पनि सरकार मूकदर्शक बनेको आरोप लगाएका छन्। एमाले धनुषाको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्।
उनले भने, ‘भारतले निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने अनि हामी सोही पुलमाथि बसेर नेपाल–भारत मैत्री जिन्दावाद भन्न सक्दैनौं ।’
एमाले मधेसको सच्चा हितैसी भएको दाबी गर्दै पोखरेलले मधेसमा एमाले प्रवेश गर्ने हावा नै चलेको बताए । नागरिकता समस्या अबिलम्ब समाधान हुनु पर्ने माग गर्दै उनले वैवाहिक अंगीकृत नागरिकताको सवालमा भने पार्टीको पुरानै अडान कायम रहने संकेत गरे ।
एमाले नेतृत्व तीनै तहको निर्वाचनमा सबभन्दा ठूलो दल बन्ने योजनामा अघि बढेको उल्लेख गर्दै उनले निर्वाचनमा पहिलो दल बन्न पार्टी संगठनलाई अझ सशक्त बनाउन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।