काठमाडौं। लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने आश पलाएको छ। २८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रसँगै अब विमानस्थलमा कहिले जहाज उड्ला भन्ने आशामा बसेका छन् उक्त स्थानका स्थानीयवासी।
विसं २०७७ फागुनमै कालोपत्र सक्ने गरी नागरिक उड्डयन प्राधिकरणले ठेक्का सम्झौता गरे पनि एक वर्षपछि मात्रै विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न भएको छ। कच्ची धावनमार्गका कारण बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण विमानस्थल नियमितरूपमा सञ्चालनमा आउन सकेको थिएन। हवाई सेवाका लागि यात्रुको सुनिश्चितता हुनासाथ विमानस्थलमा नियमित उडान गर्न सकिन्छ। कालोपत्र सम्पन्न भएको विमानस्थल हस्तान्तरणको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ।
विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा पुगेको निर्माणको जिम्मा पाएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका प्रतिनिधि वासु थापाले जानकारी दिए। उनले धावनमार्गमा मार्किङबाहेक अन्य काम सम्पन्न भइसकेकाले हस्तान्तरणका लागि प्रक्रिया अगाडि बढाएको बताए।
विमानस्थलको अबको समस्या भनेको यात्रु सुनिश्चितता र स्थानीयको पहलकदमी हो। स्थानीय र प्रदेश सरकारले चासो देखाएमा तत्कालै विमानस्थलमा जहाज चलाउन सकिने छ। प्राधिकरणले निर्माण, जनशक्ति तथा प्राविधिक व्यवस्थापन गर्ने काम भएको र स्थानीय पालिका र प्रदेशले सहजीकरण गरे जहाज सञ्चालनका लागि कुनै समस्या नभएको प्राधिकरणका इन्जिनियर मीनराज ओझाले जानकारी दिए।