दार्चुला । व्याँस गाउँपालिकामा सरकारले वैकल्पिक बाटोको व्यवस्था नगर्दा स्थानीय तुइनकै भरमा वारपार गर्न बाध्य छन् ।
व्याँस–२ दुम्लीङ, राप्ला मालका लागि वैकल्पिक बाटोको व्यवस्था नहुँदा फेरि पनि तुइनमा झुन्डिँदै यात्रा गर्न बाध्य भएका हुन्।
स्थानीय सरकारले माल गाउँका लागि हेलिकप्टरमार्फत खाद्यान्न गाउँ पुर्याए पनि दुम्लिङका स्थानीयवासीका लागि खाद्यान्न ढुवानी हुन सकेको छैन। खाद्य संस्थानले ठेक्कामार्फत चामल पुर्याउने भने पनि अझै पुर्याउन नसकेको स्थानीवासी बताउँछन् ।
तुइनको जोखिम मोलेर दुम्लिङका स्थानीयवासीले खाद्यान्न र आवतजावत गर्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।
तुइनको प्रयोग नगरे आफ्नो गाउँ पुग्न दुई दिन लाग्ने भएपछि बाध्य भएर पनि तुइनको साहारा लिनु परेको स्थानीयको भनाइ छ ।
भारतीय बाटो हुँदै जाँदा दुई घण्टामै गाउँ पुगिन्छ। यो क्षेत्रमा दुई वर्षअघिसम्म काठको पुलमार्फत महाकाली वारपार हुने गथ्र्यो। कोभिड–१९ को लहर आएसँगै यो क्षेत्रमा लगाइएको काठेपुल भत्काइएको हो । त्यसयता अहिले नागरिकले तुइन लगाएर आवतजावत गर्न थालेका हुन् ।