काठमाडौं। निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी शिवम् एयरलाइन्सले विकट गन्तव्य उडानका लागि अनुमति पाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सलाई उडान अनुमति दिएको हो।
एक वर्षदेखि उडान इजाजतका लागि प्रक्रिया शुरु गरेको एयरलाइन्सले मन्त्रालयबाट आधिकारिक इजाजत पत्र पाएको मन्त्रालयले जनाएको छ।
एयरलाइन्सले अब पश्चिम क्षेत्रमा बेस राखेर नियमित उडान गर्न सक्ने बताइएको छ। मन्त्रालयबाट उडान अनुमति पाए पनि उक्त एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिनुपर्ने प्रक्रिया भने बाँकी रहेको छ ।
प्राधिकरणबाट उडानका लागि पाँच चरणको प्रक्रिया पूरा भएसँगै एक वर्षभित्रै सेवा सुरु गर्ने योजना रहेको एअरलाइन्सले जनाएको छ।