खोटाङ। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका स्थानीयले खेल मैदान निर्माण गरेका छन्। स्थानीयले बाम्राङको कट्टीमा सेभेन साइजको परशुराज राई बहुउद्देश्यीय खेल मैदान निर्माण गरेका हुन् ।
स्थानीय कट्टी प्राकृतिक सामुदायिक वन उपभोक्ता समिति, रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका स्थानीयको सहयोगमा संकलन गरिएको २ लाख ५२ हजारको खर्चमा खेल मैदान निर्माण गरेको स्थानीयले बताएका छन्।
भूतपूर्व बेलायती सेना परशुराज राईको परिवारले निःशुल्क उपलब्ध गराएको १२ रोपनी जग्गामा ६० मिटर लम्बाई र ३० मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो । सहयोग जुटाउँदै क्रमशः नाइन साइजको बनाउने गरी खेतीयोग्य जग्गामा खेलमैदान निर्माण शुरु गरिएको हो ।
खेलमैदानका लागि थप जग्गा आवश्यक परे राई परिवारले पुनः उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
निःशुल्क जग्गा उपलब्ध गराएकै कारण खेलमैदानको नाम परशुराज राई बहुउद्देश्यीय राखिएको हो । स्काभेटर प्रयोग गरेर चार दिनमा सेभेन साइजको खेलमैदान बनाइएको हो ।