काठमाडौं। सिन्धुली जिल्लाको महाभारत क्षेत्रमा राताम्मे फुल्ने लालीगुराँस लोप हुँदै गएको छ। पछिल्लो समय पहाडी क्षेत्रको जङ्गलमा जताततै सडक विस्तारले लालीगुराँस लोप हुँदै जान थालेको हो।
स्थानीयका अनुसार फागुनको दोस्रो सातासम्म ढकमक्क फुल्ने लालीगुराँस सिन्धुलीका महाभारत क्षेत्रमा विरलै पाउन थालिएको छ। एक दशक अगाडिसम्म पहाडी क्षेत्रको महाभारतका जङ्गलमा राताम्मे फुल्ने गरेका लालीगुराँस हाल कहीँ कतै मात्र देखिन थालेको हो।
लालीगुराँसको उचित संरक्षणको अभावमा मासिँदै गएको सुनकोसी गाउँपालिकाले जनाएको छ। पछिल्लो समय सडक विस्तार गर्न भन्दै पहाडका डाँडापाखा सबै फोरिन थालेपछि लालीगुराँसको संरक्षण हुन सकेको छैन। पछिल्लो समय निर्माण भएका अधिकांश ग्रामीण सडक वन कार्यालयसँग लिनुपर्ने स्वीकृतिसमेत नलिई जथाभावी निर्माण गर्दा गुराँसका रुख नै मासिन थालेको स्थानीयवासीको भनाइ छ।
स्थानीयका अनुसार आढगढी नागी चालिसे सडक विस्तार गर्दा पनि गुराँसको संरक्षण हुन सकेको छैन। सिन्धुलीका गोलञ्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका र सुनकोसी गाउँपालिकाको महाभारत क्षेत्र लालीगुराँस धेरै हुने स्थानका रूपमा परिचित छन्। सडक निर्माण गर्दा गुराँसका रुखको जरैसमेत उखेलिने तथा सडक खन्दा निस्किएको ढुङ्गा, माटो जथाभावी फाल्दा लालीगुराँसका बोट मौलाउन नसकेको बताइएको छ।