धनुषा। नेपालको सबैभन्दा ठूलो मन्दिरको रुपमा परिचित जानकी मन्दिरको सौन्दर्यीकरण कार्य संकटमा परेको छ। जानकी मन्दिरलाई झिलिमिली बनाउने प्रवासी नेपालीको सपना, मुख्यमन्त्रीको मन्दिर सौन्दर्यीकरण र वृहत्तर जनकपुर क्षेत्र विकास क्षेत्रको विद्युतमा गरिएको करोडौँको लगानी अलपत्र परेको हो।
जानकी मन्दिरमा बालिने विद्युतको करोडौं रकम बाँकी वक्यौता र सौन्दर्यीकरणका लागि काम गरिरहेका ठेकेदारले जबरजस्ती हुकिङ् गरी विद्युत प्रयोग गरेको भेटिएपछि प्राधिकरणले अहिले मन्दिरको विद्युत अवरुद्ध गरेको छ ।
मन्दिर सौन्दर्यीकरणका लागि ठेक्का लिएका व्यवसायी रामवबिश्वास बैठाले चोरी गरेर विद्युत हुकिङ् गरि मेशिन प्रयोग गरेको भेटिएपछि विद्युत प्राधिकरणले मन्दिरको विद्युत नै अवरुद्ध गरेर कारबाही गरेको छ भने व्यवसायीलाई १२ हजार क्षतिपूर्ति लिएर छोडिए पनि मन्दिरको विद्युत सुचारु गरिएको छैन ।
स्थानियवासीहरुका अनुसार दैनिक पर्यटक आउने क्षेत्रमा विद्युत काटिनु अन्याय रहेको छ । लाइट बल्दा मन्दिर सुन्दर देखिन्थयो तर अहिले मन्दिरलाई अन्ध्यारो बनाएर कुरुप बनाइएको छ ।
यता जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले मन्दिरको प्रांगणमा लगाइएको विद्युतको लाईट आफ्नो स्विकृति विना लगाइएको र यसका लागि मिटर समेत नलगाएको तथा ठेकेदारले विद्युत चोरी गर्दै आएकोले प्राधिकरणले विद्युत अवरुद्ध गरिएको आफूलाई थाहा भएको बताएका छन् । उनले आफू भगवानको पुजारी रहेकाले विद्युतको प्रक्रियाबारे आफूलाई केही थाहा नभएको बताए ।
विद्युत अवरुधको सम्बन्धमा नेपाल विद्युत प्राधिकरण जनकपुरधाम वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिकले मुख्यमन्त्री सौन्दर्यीकरण योजना अन्तर्गत लगाइएको लाईट सञ्चालनका लागि मुख्यमन्त्रीको डाइरेक्ट अनुरोधमा कनेक्सनका लागि भनिएको थियो जुन पछि गएर प्रक्रियामा जाने भनेपछि कनेक्सन गरिएको बताए । तर महिनौ बित्दा समेत मिटर जडानको प्रक्रिया नअपनाइएको बताउँदै उनले झन् त्यसमा गैर कानुनी तवरले ठेकेदारले विद्युत चोरी गरिरहेको पाइएको र केही व्यक्तिकै निवेदनका आधारमा विद्युत अवरुद्ध गरिएको बताए ।