काठमाडौं। नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०–१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन गरिएिको छ। सबस्टेसनको हिजो ऊर्जा मन्त्री पम्पा भुसालले गरेकी हुन्।
मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सुदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो। उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत छिमेकी मुलुकहरुमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिइन्।
रसिया र युक्रेनबीचको युद्धले अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमासमेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युतको खपत बढाउन आग्रह गरिन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत आपूर्तिका लागि अर्को ३३–११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको बताए। उनले नेपालको विद्युत महसुल सस्तो रहेको र मागे जति विद्युत उपलब्ध गराइरहेको यस क्षेत्रमा उद्योगहरु खोल्न आग्रह गरे। सबस्टेसन तोकिएको लागतमा निर्माण सम्पन्न गरी उदाहरणीय कार्य भएको बताइएको छ।
कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ। नेपाल सरकारको लगानी, नर्वेको अनुदान र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋणमा सबस्टेसनको निर्माण गरिएको हो