काठमाडौं। म्याग्दीको बेनीमा ३ करोड २५ लाख रुपैयाँ खर्चेर रावण पार्क बनाइने भएको छ। बेनी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगका बेनी नगरपालिका–५, पुलाको पछैमा रावण पार्क बनाउन लागेको हो।
रावणको मूर्तिसहित पार्क निर्माणका लागि मन्त्रालयले २ करोड ११ लाख रुपैयाँ र नगरपालिकाले १ करोड १४ लाख खर्च बेहोर्ने छन्। पार्कमा रावणको ६ मिटर अग्लो मूर्तिसमेत बनाइने भएको छ। पुलहाश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्डलगायतका संरचनालाई संरक्षण गरी पार्क बनाउने योजना नगरपालिकाले जनाएको छ।
पर्यटन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत पार्क निर्माणका लागि बजेट छुट्याएको हो। नगरपालिकाले पार्क निर्माणका लागि धर्म एस कास्यप जेभी कलंकी काठमाडौंसँग ठेक्का सम्झौता गरिसकेको छ। पार्क ०७९ फागुनमा निर्माण पूरा गर्ने सम्झौतामा उल्लेख छ। उक्त कम्पनीले १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपैयाँ कबोल गरी ठेक्का सम्झौता गरेको हो।